प्राकृतिक प्रकोपको घटनाबाट ३ अर्ब ४४ करोड मूल्य बराबरको क्षति

- कार्तिक १०, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।

बागमती बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद् बाट चालु आर्थिक वर्ष २०८१/८२ को ३ महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा १ सय ९१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १ सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट १ सय ५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर ९ जनाको मृत्यु भएको छ ।

यस्तै सो अवधिमा करेन्ट लागेर ८ जना, चट्याङ लागेर ४ जना र आगलागी तथा जनावरको आक्रमणबाट १/१ जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । सो अवधिमा विपद्का घटनामा परी १ सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उहाँको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ ।

विपद् बाट ती जिल्लामा ९ हजार ७ सय ७८ पंक्षी र ५ सय १६ चौपायाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । सो अवधिमा भएका विपत् का घटनाबाट १ सय ७१ पक्की, ६ सय ७३ कच्ची घर र १ सय ६१ गोठ क्षतिग्रस्त भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । सो कार्यालयका अनुसार विपद् बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

बाढी, पहिरोजन्य विपद् बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद् बाट रु ३ अर्ब ४४ करोड ५३ लाख ६१ हजार ९ सय ६० मूल्य बराबरको धनमालको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

पुल तथा सडक बगाएपछि सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने धेरै सडक अवरुद्ध भएको र विस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर