
अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरती आफै समाचार बन्न थालिन
- चैत्र ३, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहनुभएकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहेकी छिन् । अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरतीले चलचित्र ‘राजागञ्ज’बाट अभिनय थालेकी हुन् ।
सार्वजनिक प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौँमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निर्वाह गरेको भूमिकाले चर्चा पायो । उनले पहिलोपटक चलचित्रमा अभिनय गरेकी हुन् । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा तयार भएको सो चलचित्रका लागि महिला कलाकारको खोजी भएको थाहा पाएपछि आरतीले अडिसन दिएकी हुन् ।
“जनकपुरमा चलचित्र छायाङ्कन हुँदैछ र मधेसी पात्र चाहिएको छ भन्ने थाहा पाएपछि मैले अडिसन दिएँ । अभिनय मेरो लागि नयाँ थियो, तर पनि निर्देशकसहितको समूहले मलाई चयन गरे । त्यसपछि केही समय अभिनय कार्यशाला गरेर तयार भएँ”, पत्रकार मण्डलले भनिन । यसअघि नाटकको पटकथा लेखन र त्यसका केही पात्रमा स्वर दिए पनि उनले पहिलोपटक चलचित्रका लागि अभिनय गरिन । छायाङ्कनभन्दा अगाडि गरिएको कार्यशाला र कलाकारसँग घुलमिल भएपछि आरतीलाई पात्रलाई जीवन्त बनाउन सहज भयो । फलतः चलचित्र हेर्नेले उनको भूमिकाको प्रसंशा गरेका छन् ।
“मेरा लागि नयाँ अनुभव रहयो, पुरुषप्रधान समाजमा महिलाको अस्तित्व र आवश्यकतासँगै महत्वलाई चलचित्रले दर्शाउँछ । यसमा महिला नै मुख्य भूमिकामा छन् , घुम्टोमा अनुहार लुकाउने मधेसमा महिलाले नेतृत्व गर्नु आफैँमा ठूलो विषय हो”, पत्रकार मण्डलले भनिन ।
उक्त चलचित्रमा पत्रकार मण्डलसँगै महिला कलाकार आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चान्डक र पुष्पा यादवले समेत अभिनय गरेका छन् । यस चलचित्रमा सात महिला कलाकारलाई निर्देशक दीपक रौनियारले इन्द्रेणीको रङझैँ चित्रण गरेका हुन् । चलचित्रको मूलकथा र पात्र यी सात महिला नै छन् ।
“मैले अडिसन दिँदा पत्रकारको भूमिका पाउँछु कि जस्तो पनि लागेको थियो, तर मेरो अभिनय हेरेर मलाई अर्को भूमिका दिए । आगामी दिनमा यस्तै आफूलाई सुहाउँदो भूमिका प्राप्त भएमा अभिनय पनि गर्छु, साथै म आफ्नो सञ्चारकर्मलाई पनि अगाडि बढाउँछु”, पत्रकार मण्डलले भनिन ।
नेपाली चलचित्र प्रायः पुरुष पात्र केन्द्रित हुने गर्छन् । पारिश्रमिकको विषय होस् वा भूमिकाको प्रायः पुरुष नै अगाडि देखिने गर्छन् । थोरै यस्ता चलचित्र छन्, जसमा महिला कलाकार शीर्ष भूमिकामा रहन्छन् । महिला कलाकारले मात्र चलचित्रलाई व्यावसायिक सफलता दिलाउन नसक्ने सोच धेरै चलचित्रकर्मीमा पाइन्छ । तर, चलचित्र ‘राजागञ्ज’ महिला कलाकारकै वरपर घुमेको छ । निर्देशक रौनियारले चलचित्रमा सात महिला पात्रमार्फत कथावस्तुलाई अगाडि बढाएका छन् । चलचित्रमा पुरुष पात्रको उपस्थिति सहायक भूमिकामा छ ।
चलचित्रमा निर्देशक रौनियारले एउटा दृश्य राखेका छन् , जहाँ घुम्टोमा छोपिएर बस्नुभएकी एक महिलालाई पुलिस अफिसर महिलाले प्रश्न गर्छिन । जहाँ महिला घुम्टो बाहिर आएर बोल्न डराएका छन्, त्यहीँ अर्की महिलाले प्रहरीको नेतृत्व गर्नुभएको छ । यो चलचित्रले प्रस्तुत गरेको विषय र महिलालाई प्रस्तुत गरेको शैली सुन्दर रहेको अभिनेत्री ऋचा शर्माले बताइन ।
“यस चलचित्रमा काम गर्दाको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिनँ । सात महिलामार्फत यसमा समाजलाई चित्रण गरिएको छ । महिलाको विभिन्न रुप यसमा प्रस्तुत गरिएको छ । मधेसमा महिला कार्यकरी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौँ । महिला कलाकारलाई केन्द्रमा राखेर कथा तयार गर्नु र त्यही अनुरुप चलचित्र निर्माण गर्न ठूलो आँट चाहिन्छ”, अभिनेत्री शर्माले भनिन ।
निर्देशक रौनियारले झण्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको जानकारी दिए । चलचित्रमा अभिनेता दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । नेपलमा सार्वजनिक प्रदर्शनअगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
-
चैत्र २६, २०८१बजारमा मौसमको बदली र प्रदूषित वायुको असर
-
चैत्र २६, २०८१सहरमा प्रदूषित वायुको असर
-
चैत्र २६, २०८१ॐ गं गणपतये नमः – मङ्गलबारको दिन माछा खाँदा आर्थिक नोक्सानी
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
-
लोकप्रिय चैत्र २६, २०८१बजारमा मौसमको बदली र प्रदूषित वायुको असर
-
लोकप्रिय चैत्र २६, २०८१सहरमा प्रदूषित वायुको असर
-
लोकप्रिय चैत्र २६, २०८१ॐ गं गणपतये नमः – मङ्गलबारको दिन माछा खाँदा आर्थिक नोक्सानी
Comments