चीनका प्रख्यात ‘डिल ब्रोकर’ बाओ एक्कासी गायब

- फाल्गुन ६, २०७९ मा प्रकाशित


एजेन्सी ।
चाइना रेनासान्स होल्डिङ्सका प्रमुख कार्यकारी बाओ फ्यान व्यापारीक दुनियाँ बाट हराएका छन् । केही दिन देखी उनी सम्पर्कमा नरहेको उनको कम्पनीले जानकारी दिएको छ ।
बाओ चीनका प्रख्यात ‘डिल ब्रोकर’ हुन् जसका ग्राहकहरूमा डिडि र मेटुवान जस्ता प्रख्यात प्रविधि कम्पनीहरू पर्छन्।
उक्त कम्पनीको घोषणाले बेइजिङमा वित्तीय अनि प्रविधि कम्पनीहरूसँग जोडिएका व्यक्तिहरूमाथि पुनः कडिकडाउ गर्न सुरु गरिएको हुनसक्ने चिन्ताहरू व्याप्त भएको छ।
आफूहरू ‘‘बाओ फानलाई सम्पर्क गर्न असफल भएको’’ उक्त कम्पनीले बताएसँगै शुक्रवार उसको शेअर मूल्य ओरालो लागेको छ।
कम्पनीले उनी कति समय देखि सम्पर्कमा छैनन् भन्ने कुरा भने खुलाएको छैन । व्यावसायिक विषयवस्तुहरूबारे रिपोर्ट गर्ने समाचार संस्था काइसीनले स्रोतहरूलाई उद्धृत गर्दै कम्पनीका कर्मचारीहरूले दुई दिनदेखि उनीसँग सम्पर्क गर्न नसकेको जनाएको छ।

विगतमा सरकारी स्वामित्वको आईसीबीसी ब्याङ्कमा गरेको कामसँग जोडेर उक्त कम्पनीका अध्यक्ष कोङ लिनलाई गत सेप्टेम्बर महिनामा सरकारी निकायहरूले नियन्त्रणमा लिएको उक्त समाचार संस्थाले जनाएको छ।
चाइना रेनासान्सले भने कोङको अवस्थाबारे कुनै टिप्पणी गरेको छैन। कम्पनीको वेबसाइट र उसको पछिल्लो अन्तरिम प्रतिवेदनमा उनलाई कम्पनीका कर्मचारीका रूपमा समेत सूचिकृत गरिएको छैन।
फोर्ब्स म्यागेजिनका अनुसार कम्युनिस्ट पार्टीसँग कथित रूपमा फरक मत राखेका कारण पछिल्ला केही वर्षहरूमा कम्तीमा आधा दर्जन अर्बपतिहरू सम्पर्कमा नरहेको पाइएको छ।
कैयौँ घटनाहरूमा उनीहरूलाई भ्रष्टाचार, कर वा अन्य अपराध अनुसन्धानमा फसाइएको हुनसक्ने आशङ्का गरिएको थियो।
हराएका उल्लेख्य व्यक्तित्वहरूमा फोसुन समूहका संस्थापक गुओ ग्वान्चाङ पनि छन् जो सन् २०१५मा कैयौँ दिन हराएका थिए। उनलाई चीनका वारेन बफेट भनिन्छ।

सन् २०१७मा चिनियाँ–क्यानडिअन व्यवसायी स्यो जिअनह्वालाई नियन्त्रणमा लिएको थियो। गत वर्ष उनलाई भ्रष्टाचारको आरोपमा जेल चलान गरियो।
त्यस्तै सन् २०२०को अन्त्यतिर नियामक निकायबारे आलोचनात्मक टिप्पणी गरेको केही समयपछि अलिबाबाका संस्थापक ज्याक मा तीन महिना सर्वसाधारणहरू सामु देखा परेका थिएनन्।
उनी डिजिटल कारोबार कम्पनी एन्ट फाइन्यान्सिअललाई सेअर बजारमा सूचिकृत गर्ने चरणमा थिए जसले उनलाई चीनका सबैभन्दा धनी व्यक्ति बनाउन सक्ने सम्भावना थियो।
बाओलाई चीनको सूचना प्रविधि उद्योगका मुख्य पात्रमध्ये एक मानिन्छ। उनले ‘राइड हेलिङ्ग’ एप डिडि र ख्वाइदि अनि खाना ग्राहकका ढोकासम्म पु¥याउने मेटुवान र डियान्पिङ जस्ता प्लेटफर्म एक आपसमा गाभिने कुरालाई टुङ्गोमा पु¥याएका थिए। चीनमा यी दुई निकै ठूलो मर्जर पक्रिया मध्येका मानिन्छन्।
उनले सन् २००५मा चाइना रेनासान्स स्थापना गरेका थिए जुन हाल प्रमुख चिनियाँ वित्तीय संस्था मध्ये एक बन्न सफल भएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर