स्ववियू निर्वाचन
नयाँ नेतृत्वको लागि सल्बलाउन थाले बिधार्थी नेताहरु

- फाल्गुन ७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

१९ फागुनदेखि निर्वाचन प्रक्रिया सुरु हुने त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार विश्वविधालयमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु हुने भएको छ । लगभग डेढ दशकको अवधि पछि नयाँ नेतृत्व पाउन लागेको स्वतन्त्र विधार्थी यूनियनको निर्वाचन भने ५ चैत्रमा हुने भएको छ ।
यूनियनको नेतृत्वलाई लिएर केन्द्रले समेत चासो राख्ने गरेको छ । दलिय संगठनको आधारमा हुने निर्वाचनमा पाँच हजार भन्दा बढी विद्यार्थीको नेतृत्व गर्ने भएकाले त्रिविको केन्द्रीय क्याम्पसको नेतृत्व हात पार्न विद्यार्थी संगठन र विद्यार्थी नेताहरुले दौडधुप सुरु गरिसकेका छन् ।


नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को त्रिवि समिति विघटनको स्थितिमा छ । तर त्यही समितिका नेताहरुले स्ववियु चुनावको तयारी गरिरहेको छ ।
विश्वविद्यालयमा महिनौंसम्म तालाबन्दी गरेपछि नेविसंघले त्रिवि समिति नै विघटन गरेको थियो । त्यसका बाबजुद पनि आफूहरु संगठनलाई जिताउने तयारीमा लागेको नेविसंघका नेता योगेन्द्र रावलले बताउँछन् ।

केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघबाट रावल सहित , पद्मा भुसाल, गणेश भण्डारी, श्यामराज ओझा, बिष्णु बडेला, किशोर भण्डारी, सागर शर्मा पौडेल लगायत आकांक्षी छन् ।
त्यस्तै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि चुनावको तयारी थालेको छ । अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय कमिटी अध्यक्ष शम्भु भट्टले विद्यार्थीमाझ लोकप्रिय नेतालाई सभापतिको उम्मेदवार बनाइने बताए ।
सभापतिका लागि भट्ट स्वयं, अनेरास्ववियुको क्याम्पस कमिटी सचिव प्रशान्त भण्डारी लगायत आकांक्षी छन् ।
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि विद्यार्थीमाझ लोकप्रिय रहेकालाई नै उम्मेदवार बनाउने बताएको छ । चुनावको तयारी सुरु पनि त्यसै अनुसार सुरु गरिसकेको केन्द्रीय क्याम्पस समिति अध्यक्ष प्रदीप भट्टले जानकारी दिए ।
अखिल क्रान्तिकारीबाट आफू पनि सभापतिको दाबेदार रहेको भट्टले बताए । क्याम्पस समिति अध्यक्षसमेत भएकाले उनी नै सर्वसम्मत सभापतिको उम्मेदवार बन्न सक्ने क्रान्तिकारीका नेताहरुले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूबाट क्याम्पस कमिटी अध्यक्ष समीर गौतम सभापतिको आकांक्षी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर