सुदूरपश्चिम प्रदेश
मध्यावधि निर्वाचनमा गए जनताले लखेट्छन् > मुख्यमन्त्री शाह

- फाल्गुन ८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
सुदूरपश्चिम ।

प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुने आशंका भईरहेको बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने दाबी गरेका छन् ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहेको बताए ।
‘विश्वासको मतका लागि सबै दलहरुसँग सकारात्मक छलफल भैरहेको छ । केही दिनमा हामी विश्वासको मत लिन्छौं । सुदूरपश्चिम सरकार पाँच वर्ष निरन्तर चल्छ,’ शाहले भने, ‘यो बेकारको कुरा हो, मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,।’

२७ पुसमा मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए ।
त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल (नेपाली कांग्रेस)को संसदीय दलको नेताको हैसियतमा शाह २६ माघमा सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
५३ प्रदेशसभा सदस्य रहेकोमा सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर उनीसँग अहिले २३ सांसद छन् । उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर