आइसिसी विश्वकप लिग–२
ओडिआई सिरिजमा नेपाललाई २ सय ४ रनको मध्यम लक्ष्य
- फाल्गुन १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय ४ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनायो।
पपुवा न्युगिनीका मध्यक्रमका ब्याटर चाद सोपरले ५३ बलमा २ चौकासहित ३६ रनमा अविजित रहे । नर्मन भानुआले १५ बलमा २ चौका र २ छक्कासहित २५ रन जोड्दै आउट भए । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामक ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै सोमपालले पहिलो सफलता दिलाएका थिए ।
दोस्रो विकेटका लागि किप्लिङ डोरिगा र सेसे बाउले ५० रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाको १६ औं ओभरको अन्तिम बलमा डोरिगा टप एज लागेर मिडअनमा करण केसीबाट क्याच आउट भए । उनले ५२ बलमा ४ चौका प्रहार गरे ।
गुलशनले २४ औं ओभरको दोस्रो बलमा सेसे बाउलाई ३१ रनमा बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । ५५ बल खेलेका बाउले ३ चौका प्रहार गरे । गुलशनले पपुवा न्युगिनीका प्रमुख ब्याटर चाल्र्स अमिनीलाई ६ रनमा क्याच गराएपछि दबाबमा परेको थियो ।
डेब्यू खेल खेलेका प्रतिश जि.सीले ३४ औं ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीबाट हिरि हिरिलाई १० रनमा क्याच गराउँदै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय विकेट लिए ।
स्पिनर कुशल मल्लले ३७ औं ओभरको अन्तिम बलमा भालालाई कुशल भुर्तेलबाट उत्कृष्ट क्याच गराउँदै ३६ रनमा पेभेलिएन फर्काए । भालाले ५३ बलमा ४ चौका प्रहार गरे । कुशल भुर्तेलले लामो रनअपका साथ उत्कृष्ट क्याच लिँदै भालालाई पेभेलिएनको बाटो फर्काएपछि ठूलो योगफल टाढिएको थियो ।
कुशल मल्लले सट लेगबाट उत्कृष्ट डाइरेक्ट थ्रोमा राइली हेकुरेलाई ४४ औं ओभरको अन्तिम बलमा ७ रनमा रन आउट गर्दै पेभेलिएन फर्काएका थिए ।
नेपालका गुलशन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए । करण केसीले ९ ओभरमा २ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए ।
सोमपाल कामीले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिए । प्रतिश जि.सीले ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments