राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफू सुविधाबाट बन्चित भएको -उपसभामुख राना

- फाल्गुन १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिनेसमेत बताइन्।
उनले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् ।
भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यसो भनेकी हुन् ।
पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो। उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन्।
मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ। अनि यो भ्रष्ट चाहिँ कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र? कस्तो लाग्छ? तपाईहरुलाई। यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने। म अन्याय र विभेद सहन नसक्ने मान्छे म। म सानो भुइँमान्छे हो।

म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थेँ। भिआइपीको सुविधा प्रयोग गर्दिनँ भन्थेँ। पहिला पुरुष उपसभामुख हुँदाखेरि चाहिँ आर्मी दिन्थ्यो रे। उहाँहरुलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे। उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नु परेको छ।’ उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुनसक्ने बताइन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर