स्ववियु बिशेष त्रिचन्द्रमा विद्यार्थीमाझ वैचारिक नेताको परिचय बनाएका जोशी सभापतिको योग्य उम्मेदवार

- फाल्गुन २०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं।

त्रिभुवन विश्वविद्यालयको मान्यता पाएको नेपालको जेठो क्याम्पसको रुपमा चर्चित रहेको त्रिचन्द्र क्याम्पसलाई राज्यको नेता उब्जाउने थलोको रुपमा चित्रित गरिन्छ । यो क्याम्पसलाई नेता उत्पादन गर्ने ठूलो कारखाना पनि भनिन्छ ।
यो क्याम्पसलाई राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराले विसं. १९७५ भदौ १२ गते स्थापना गरेका थिए । तत्कालीन राजा त्रिभुवनले १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर उक्त उद्घाटन गरेको यो क्याम्पसले मुलुकको बागडोर समाल्ने राजनीतिज्ञदेखि प्राध्यापक, राष्ट्रसेवक कर्मचारी लगायत उच्च ओहोदाका व्यक्तित्वहरु उत्पादन गरिसकेको छ।
बालकृष्ण सम, सुवर्ण शमशेर, लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, सहिद दशरथ चन्द, गङ्गालाल श्रेष्ठका साथै डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुलसीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ल, मोहम्मद मोहसिन लगायत प्रतिभाहरूलाई दीक्षित गरायो भने पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, झलनाथ खनाल लगायतका देशका नेताहरु यही क्याम्पसका उत्पादन हुन् । यो क्याम्पसले नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतका राजनीतिज्ञहरू समेत जन्माएको छ।
२०३६ सालदेखि नेविसंघको एकलौटी
नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा २०३६ सालदेखि एकलौटी जित हासिल गर्दै आएको छ। त्रिचन्द्रमा २०३६ सालमा पहिलो पटक गोपीकृष्ण घिमिरे स्ववियु सभापति निर्वाचित भएका थिए।
त्यसैगरी ऋषिकेश घिमिरे (२०३८),अच्युत गौतम (२०३९), किशोर घिमिरे (२०४१), रामहरि ढुङ्गेल (२०४३), सुरेन्द्र पाण्डे (२०४५), शङ्कर भण्डारी (२०४९), किशोरसिंह राठोर (२०५१), हरि आचार्य (२०५३), गगन थापा (२०५५), सूर्यराज काफ्ले (२०५७), सरोजकुमार थापा (२०५९), दीपक भट्टराई (२०६२) र विनयराम भट्ट (२०६५) यो क्याम्पसको स्ववियु सभापति भएका छन्।
१४ वर्षपछि हुन लागेको त्रिचन्द्रको स्ववियु निर्वाचनमा यतिबेला विभिन्न विद्यार्थी संगठनबाट आकांक्षी रहेका छन्। नेविसंघ पुरानो बिरासत जोगाउन लागिपरेको छ भने अनेरास्ववियुका उम्मेदवार बिरासत भत्काउने कसरतमा छन्।


विद्यार्थीमाझ वैचारिक नेताको परिचय बनाएका एनपी जोशीले ऐतिहासिक त्रि–चन्द्र क्याम्पसको स्ववियु सभापतिको दाबी गरिरहेका छन् । नेता जोशी भन्छन्, ‘विद्यार्थीहरूको एक मात्र प्रजातान्त्रिक संस्था नेपाल विद्यार्थी संघबाट मेरो उम्मेदवारी हुनेछ ।
नेविसंघको मुल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई सदैव शिरोपर गरी म अनवरत रूपमा लामो समयदेखि योगदान गरिरहेको छु। त्यसैले मेरो उम्मेदवारी स्वाभाविक रूपमा रहन्छ।’ आफू शैक्षिक उन्नयनका लागि आम विद्यार्थीको माझमा रहेको दाबी उनको छ।
उनले क्याम्पसको समग्र उन्नतिका लागि मूलभूत रूपमा अत्याधुनिक विज्ञान तथा प्रविधि विश्वविद्यालयको रूपमा अगाडि बढाउने संकल्प रहेको दाबी गरे ।
विद्यार्थीमैत्री छात्रावास, स्थायी प्राध्यापकहरूका लागि आवासको कुरा अजेण्डामा रहेको उल्लेख गर्दै जोशीले समग्र क्याम्पसलाई सक्षम, सबल, आत्मनिर्भर र विश्व समुदायमा अब्बल दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रूपमा स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे।

गुणस्तरीय, व्यावहारिक, रोजगारीमुलक र जीवन उपयोगी शिक्षा दिने नीति कार्यान्वयन गर्ने, अनिवार्य रूपमा अत्याधुनिक ल्याबको विकास गर्दै हरेक विद्यार्थीले अनिवार्य अनुसन्धान गर्ने थलो बनाउन आफू स्ववियु सभापतिको आकांक्षी रहेको उनले दाबी गरे।
शैक्षिक क्यालेन्डर कार्यान्वयन, क्याम्पसमा शैक्षिक मैत्री र शान्त वातावरणमा पठनपाठनको विकास, अध्ययनपश्चात् हरेक विद्यार्थीको रोजगारीको ग्यारेन्टी गर्न देशका हरेक सरकारी निकाय, निजी क्षेत्र र सबै तहका सरकारसँग समन्वय र संवाद आफ्नो अजेण्डामा समेटेको उनले बताए ।
इलेक्ट्रोनिक लाइब्रेरीको व्यवस्था गर्ने, नवीन प्रविधिको प्रयोग गरी क्याम्पसका हरेक गतिविधिहरू डिजिटालाइज्ड गर्ने, विश्वविद्यालयले सञ्चालन गर्ने कक्षा, परीक्षा, नतिजा प्रकाशन लगायतका सम्पूर्ण गतिविधिलाई पूर्व निर्धारित कार्यतालिका बमोजिम विश्वसनीय र प्रभावकारी तरिकाले सञ्चालन गर्नका लागि आफ्नो उम्मेदवारी रहने जोशीको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर