ओडिआई सिरिज
तीव्र गतिका बलर सोमपाल कामीले युएईविरुद्ध दोस्रो बलमै विकेट लिए

- फाल्गुन २२, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालका तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध दोस्रो बलमै विकेट लिएका छन् ।
जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको युएईले २ ओभरमा १ विकेट गुमाउँदै ५ रन बनाएको छ । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका हुन् । वासिम एज लागेर बोल्ड हुन पुगेका थिए । युएईका अर्यान लर्कान र आसिफ खान २–२ रनमा क्रिजमा छन् ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियोा । नेपालका पाँचौं नम्बरका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए । भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो ।
भीमले जहुर खानलाई थर्डम्यानमा चौका हान्दै ७८ बलमा सिनियर टोलीको लागि पहिलो अर्धशतक प्रहार गरेका थिए । भीम ४५ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफाबाट बोल्ड आउट हुन पुगे । एक समय ६८–५ को दयनीय अवस्थामा पुगेको नेपाललाई भीमले अर्धशतकका साथ खेलमा पुनरागमन गराएका थिए ।
आरिफ शेख ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे । युएईका जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर