२०८४ मा त्यो सम्भावना हुनसक्छ ,बालकोट आउँछौं, प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौ – कांग्रेस महामन्त्री थापा

- फाल्गुन २५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा कांग्रेस–एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकार्यको तत्काल सम्भवना नरहेको बताएका छन् ।
राष्ट्रपति निर्वाचनमा भोट हाल्न गएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरुले कांग्रेस–एमाले मिलेर सरकार बनाउने सम्भावनाबारे जिज्ञासा राखेका थिए । सो क्रममा ओलीले कांग्रेससँग सहकार्य नगर्ने भनेर कसम नखाएको बताएका थिए । उनले भनेका थिए, ‘राजनीतिमा केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’
संसद भवन परिसरमै पत्रकारहरुले महामन्त्री थापालाई पनि ओलीको अभिव्यक्ति अनुसार कांग्रेस–एमाले मिल्नसक्ने सम्भावनाबारे जिज्ञासा राखे । जवाफमा थापाले भने, ‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।’
एमालेबाट झुक्याइएकाहरुको अनुभव साटासाट गरेर कांग्रेस, माओवादी केन्द्र लगायत दलले सरकारमा साझेदारी गरेको थापाको भनाइ छ । ‘फेरि झुक्याउन सक्छु भनेर हामीलाई यति धेरै अवमूल्यन नगरिदिन हार्दिक आग्रह छ,’ थापाले भने ।
उनले अबको राष्ट्रपति जतिसक्यो धेरै नागरिकतिर फर्किनुपर्नेमा जोडसमेत दिए । ‘राजसंस्थाको जुन परम्परा अभ्यास हो, त्यसबाट यसलाई अलग्ग गर्न सक्नुपर्ने रहेछ,’ थापाले भने, ‘हामीले कताकता राजसंस्थाको निरन्तरता छ है भनेजस्तो आभाष दिन खोज्यौं, भद्दा नक्कल गर्न खोज्यौं । यो क्रमलाई यसपटक हामीले भंग गर्नुपर्छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर