तुलसी बहुमुखी सहकारीका अध्यक्ष शर्मा फरार, सर्बसाधारणको करिब डेढ अर्ब रकम डुब्यो

- फाल्गुन २६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
विराटनगर ।

तुलसी बहुमुखी सहकारी संस्थाका विराटनगरका अध्यक्ष केदारनाथ शर्मा फरार छन् भने उपाध्यक्ष र सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन जिल्लाका १० हजार बढी सर्वसाधारणको करिब डेढ अर्ब रकम संकलन गरेर अहिले तुलसी बहुमुखी सहकारी संस्थाले सर्बसाधारणलाई बेचल्लीमा पारेको छ ।
सञ्चालक फरार भएपछि मोरङ प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को सहयोग मागेको छ । तीन जिल्लामा कार्यालय खोलेका कारण मोरङ प्रहरीले अनुसन्धानका लागि सीआईबीको सहयोग मागेको हो ।
मोरङ प्रहरीका डीएसपी टिकाबहादुर कार्कीले उक्त सहकारीको शाखा तीन जिल्लामा रहेकाले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरिएको बताए । ‘हाम्रो कार्यक्षेत्र मोरङ मात्रै हो,’ उनले भने, ‘झापा र उदयपुरमा पनि सहकारीको कार्यालय भएका कारण माथि भनेका छौं ।’

सीआईबीसँगको समन्वयमा मोरङबाट अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।
२०७१ सालमा विराटनगरमा खुलेको तुलसीले झापाको दमक र उदयपुरको गाइघाटमा कार्यालय खोलेको छ । तीन जिल्लामा १० हजार बढी सर्वसाधारणले एक अर्ब ४९ करोड हाराहारी बचत गरेका छन् ।
सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारत पुगेका छन् । उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने प्रहरी नियन्त्रणमा छन् । अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानपछि ठगी मुद्दा चलाउन तयारी गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर