क्यानेडियन, बेलायती र अमेरिकी नागरिकहरुलाई ठग्ने शाह समूह कारागार चलान

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

पृथ्वी शाह सहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्लेसहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो। जसमध्ये ६ जनाबाहेक अन्य व्यक्ति भने अहिलेसम्म फरार छन् ।
६ जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । यो समूहले अमेरिकाबाट समेत संकास्पद रुपमा करोडौं रकम भित्र्याएको आरोप लागेको थियो।
शाहले शंकास्पद रुपमा नेपाल भित्र्याएको रकम राष्ट्र बैंकले रोक्का गरेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले फुकुवाका लागि निर्देशन समेत दिएको विषय सार्वजनिक भएको थियो। उक्त कुरा नमानेपछि गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको प्रक्रिया अघि बढाइएको थियो। पछि सर्वोच्चले अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्किएका थिए।

अमेरिकी नागरिकहरु ठगिएकोबारे नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। अनुसन्धानमा उनीहरुले ठगीबाट आर्जन गरेको रकम घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको थियो।
उनीहरुले ठगीबाट आर्जित गरेको रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ। उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दूतावासमार्फत् उजुरी दिएका छन्।
केही क्यानेडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ।
उनीहरुले अमेरिकी नागरिकसँग अमेजनको बिल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए। ठगीमा पर्नेहरुमा प्रायः बृद्धबृद्धा रहेको खुलेको थियो।
शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरिदिएको पनि सीआईबीको अनुसन्धानमा उल्लेख गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर