एकल बिन्दु सेवा सुरू गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा छौं – प्रधानमन्त्री दाहाल

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार ‘नेपाल–चाइना बिजनेस फोरम २०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताका लागि सरकारले एकल बिन्दु सेवा सुरू गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ–नयाँ प्रविधिको आवश्यकता रहेको छ। चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ। सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुने गरी वातावरण बनाउन प्रतिवद्ध रहेको छ।’
उनले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे। उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको उल्लेख गरे ।
उनले भने, ‘पछिल्लो समयमा चीन सरकारले प्रतिवद्धता गरे अनुसारको लगानी आउन सकेको छैन, त्यो अरुलाई दोष दिनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो । ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ।’
उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए । प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिवद्धता गरे अनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरैभन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।
उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे ।
‘चीन सरकारले पछिल्लो समय पर्यटकका लागि खुला गरेको छ भने आफ्ना देशका नागरिकहरुलाई पनि विदेश जाने अनुमति दिएको छ । हामी छिमेकी देश भएकाले र प्राकृतिक रुपमा पनि नेपाल सुन्दर देश भएकाले नेपालमा चिनियाँ पर्यटकहरुको स्वागतका लागि तयार छौँ । ’ उनले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर