विश्वकप लिग-२
युएईका युवा ब्याटर वृत्यले घरेलु टोली नेपालविरुद्ध संयमित अर्धशतक प्रहार गरे

- चैत्र २, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

युएईका युवा ब्याटर वृत्य अरविन्दले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपालविरुद्ध संयमित अर्धशतक प्रहार गरेका छन् । २० वर्षीय वृत्य ८७ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा अविजित छन् ।

उनको ओडिआई करिअरको यो पाँचौं अर्धशतक हो । उनलाई रोहन मुस्तफाले १६ बलमा १ चौकासहित ६ रनमा साथ दिएका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको छ ।


नेपालका तीव्र गतिका बलर सोमपाल कामीले नवौं ओभरको चौथो बलमा वृत्य अरविन्दलाई ८ रनमा कट एण्ड बोल्ड गर्नबाट चुकेका थिए । दोस्रो विकेटका लागि कप्तान मोहम्मद वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए । स्पिनर ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

स्पिनर सन्दीप लामिछानेले १७ औं ओभरको दोस्रो बलमा वासिमलाई ६३ रनमा एलबीडब्लू आउट गरे । वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे । अघिल्लो दिन पपुवा न्युगिनीविरुद्ध १२ छक्का हान्दै १ सय १९ रनको शतकीय इनिङ खेलेका वासिमले नेपालविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गर्दै आउट भए ।

२३ औं ओभरको अन्तिम बलमा सिपी रिजवान आफ्नै गल्तीको कारण ७ रनमा रन आउट भए । दीपेन्द्रको २७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका आयन खान चोभार एण्डको लङअनमा गुलशन झाबाट क्याच आउट भए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर