त्रिकोणात्मक ओडिआई सिरिजमा सर्वाधिक विकेट लिने नेपाली क्रिकेटर

- चैत्र ५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौैं ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा दमदार प्रदर्शन गर्दै विश्वकप छनोटमा पर्न सफल भएको छ । प्रतियोगिताभर नेपालको बलिङ दमदार थियो । नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेपछि सोझै ओडिआई मान्यता बचाउनुको साथै शीर्ष तीनमा पर्दै जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको थियो ।
नेपालका स्पिनर सन्दीप लामिछाने लिग–२ मा एकै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बने । सन्दीप लिग–२ मा सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा रहे । सन्दीप अघि ओमानका बिलाल खान रहे । सम्रगमा लिग–२ मा सर्वाधिक विकेट लिने पाँच नेपाली खेलाडी र उनीहरुको प्रदर्शन यस प्रकार छ ।
स्पिनर सन्दीप लामिछाने लिग २ मा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी बने । सन्दीपले ३१ खेलमा २८२ ओभर बलिङ गर्दा १ हजार १ सय ४२ रन खर्चेर कुल ७२ विकेट लिए । सन्दीपले १८ मेडन राख्दा इकोनमी ४.०४ रह्यो । सन्दीपले पाँच पटक चार विकेट र दुई पटक पाँच विकेट लिए ।


सन्दीपले २०२० मा अमेरिकालाई ३५ रनमा अल आउट गर्न ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए । जुन प्रदर्शन लिग २ कै सर्वाधिक उत्कृष्ट प्रदर्शन हो । सन्दीपले दुई साता अघि पपुवा न्युगिनीविरुद्ध पाँच विकेट लिएका थिए । सन्दीप भन्दा अघि ओमानका बिलाल खान ३५ खेलमा ७६ विकेट लिँदै शीर्ष स्थानमा रहे ।
नेपालका तीव्र गतिका बलर करण केसीले लिग २ मा सानदार प्रदर्शन गरे । करणले ३० खेलमा २१५.५ ओभरम १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए ।


तीन पटक चार विकेट लिएका थिए । करणले गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच पाँच विकेट लिएका थिए । उनले अघिल्लो महिना नामिबियाविरुद्ध पनि ५ विकेट लिएका थिए ।
त्यस्तै करणले २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग २ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा रहे ।
नेपालका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले ३१ खेलमा २२८.३ ओभर बलिङ गर्दै कुल १ हजार १ सय ११ रन खर्चेर ३६ विकेट लिए । उनले २० ओभर मेडन राखेका थिए ।

सोमपालले गतवर्ष युएईविरुद्ध ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिएका थिए । उक्त प्रदर्शन लिग–२ को मा उनको उच्च प्रदर्शन हो । समग्र लिग २ मा सर्वाधिक विकेट लिने खेलाडीमा सोमपाल १६ औं नम्बरमा रहे ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरीको लिग–२ मा ब्याटिङ राम्रो हुन सकेन । तर बलिङ र फिल्डिङ भने सानदार रह्यो । दीपेन्द्रले १९४.२ ओभर बलिङ गर्दै कुल ७ सय ३३ रन खर्चेर २३ विकेट लिए ।
मार्च ६ दुबईमा युएईविरुद्ध उत्कृष्ट पूनरागमन जित दिलाउन दीपेन्द्रले ८ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए । बलिङमा उत्कृष्ट प्रदर्शन दीपेन्द्रको एउटा यादगार प्रदर्शन रह्यो । दीपेन्द्र नेपालको दोस्रो प्रमुख स्पिनरको रुपमा खेलेका थिए ।


लिग–२ मा नेपालबाट सर्वाधिक विकेट लिने सूचिमा कुशल मल्ल पाँचौं नम्बरमा रहे । बायाँ हाते स्पिनर कुशल मल्लले १८ खेलमा १ सय १० ओभर बलिङ गर्दा कुल ५ सय २ रन खर्चेर १६ विकेट लिए ।


उनको इकोनमी ४.५६ रहँदा उत्कृष्ट प्रदर्शन २–६ रह्यो । कुशलले समग्र प्रतियोगितामा अलराउन्ड प्रदर्शन गरेका थिए । नेपालले उनलाई पार्टटाइम स्पिनरको रुपमा टोलीमा प्रयोग गरेको थियो । त्यसलाई कुशलले राम्रो सदुपयोग गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर