निफा फिल्म
‘हास्यव्यंग्यले हौसिएको नेपाली सिनेमा’ को बिषयमा बहस

- चैत्र ७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

पर्यटन बोर्डको हलमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तिम दिन सोमबार ‘हास्यव्यंग्यले हौसिएको नेपाली सिनेमा’ विषयमाथि बहसको सत्रमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्यव्यंग्य अभिनेता मनोज गजुरेल, समालोचक डा. बिन्दु शर्मा र निर्देशक प्रदीप भट्टराई सहभागी रहे ।
हास्य अभिनेता मनोज गजुरेलले हास्यव्यंग्य हिसाबको सूत्र नभएको बताए । उनले भने अधिकांशले बाहिरी हाँसो हँसाउने तर आफूले भित्रैदेखि हँसाउन प्रयास गर्ने भन्दै ‘पहिला म विद्यार्थी संगठनमा हुँदा त्यही संगठनको पक्ष र विपक्षमा रहेकालाई हास्यव्यंग्य गर्दथे भने ।
‘विधा र प्रस्तुति आ–आफ्नो हो,’ गजुरेलले भने, ‘नायक–नायिकाको फोटो पत्रिकामा छापिन्छ, अनलाइनमा अपलोड हुन्छ । तर तिनीहरु निश्चित समयपछि कि च्यातिन्छन्, कि डिलेट हुन्छन् । तर व्यंग्यकारको विचार मान्छेको मनमस्तिस्कमा नमेटिने छाप भएर बस्छ ।’

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेलाई लाग्छ नेताहरुले जति खराब कुरा गर्छन्, त्यति नै व्यंग्यको खुराक बन्छन् । गाम्नागेले अनुभव बाँडे, ‘संसारमा दुःखका कुरा धेरै छन् । रुने कुरा धेरै छन् । तर हाँस्ने कुरा कम छन् । त्यसकारण यो अप्ठ्यारो विधा हो,’ उनी भन्छन् ।
फिल्म निर्देशक प्रदीप भट्टराई पछिल्लो समय नेपाली बक्स अफिसमा हास्यव्यंग्य विधाका फिल्मको कमाइ राम्रो रहेको बताउँछन् । तर यसले फिल्मको समग्र धरातल माथि उठ्यो कि उठेन भन्ने चाहिं मूल प्रश्न रहेको उनको तर्क छ । ‘पहिला–पहिला फिल्ममा हास्यव्यंग्य भनेको क्वाँटीमा मासदाल र मस्याङ मिसाएजस्तो हुन्थ्यो । समाजमा विकृति र विसंगति धेरै भएकाले पनि कमेडी विधा चलेको भट्टराईको निष्कर्ष छ ।
समालोचक डा. शर्माले महिलाले फिल्म निर्देशन गरेपनि महिलाको आत्मसम्मान बढाउने काम नभएको बताइन् । ‘महिलाले पनि पुरुष सत्ता र पितृसत्ताको मानसिकता त्याग्न सकेको देखिंदैन,’ उनले भनिन्, ‘हास्यव्यंग्य विषयलाई अत्यन्तै हलुका विषय बनाएर प्रस्तुत गर्ने गरिएको छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर