कांग्रेस राजनीति
वरिष्ठ नेता बन्न नेताहरु बिच चलखेल सुरु- को बन्ला देउवाको सारथी ?

- चैत्र १०, २०७९ मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बने सँगै अब नेपालको पुरानो र ठूलो दल कांग्रेसमा सभापति शेरबहादुर देउवा पछि वरिष्ठ नेता को बन्ने भन्ने दौडधुप चल्न थालेको छ ।
एक से एक नेता जन्माएको कांग्रेसमा वरिष्ठताको भुंग्रोले जहिले पनि एक प्रकारको किचलो निम्त्याई रहेको हुन्छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सभापतिका दाबेदार भए पनि प्रतिस्पर्धाको मैदान छाडिदिएका रामचन्द्र पौडेललाई पार्टीमा ‘नेता’ हैसियत दिएका थिए।
त्यही हैसियत कसले पाउने भन्ने कुरा नै अहिले कांग्रेसमा चर्चाको बिषय बन्न थालेको छ । महाधिवेशनबाट निर्वाचित पदाधिकारी र पूर्व पदाधिकारीहरूभन्दा माथि ‘नेता’लाई राखिएको थियो।

पार्टीको विधानमा ‘नेता’ पद व्यवस्था नभए पनि पार्टीमा कार्य गरेको र योगदानको आधारमा यो पद दिने चलन कांंग्रेसमा चलि आएको छ । महाधिवेशनबाट निर्वाचित सभापतिका निकटतम प्रतिद्वन्द्वीलाई वरिष्ठ नेताको हैसियत दिने चलन पनि छ ।
महाधिवेशन लगत्तै देउवाका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालालाई उक्त सम्मान दिनु पर्ने आवाज पनि उठेको थियो । सभापति देउवाले कोइराला लाई उक्त पद दिन आनाकानी गरिरहेका थिए । पछि उक्त पदको हैसियतमा कोइरालालाई राख्दा पनि राखेनन ।
कोइराला निकट नेता गुरुराज घिमिरेले त्यसलाई अपमानजनक व्यवहारको रुपमा लिन्छन् । पौडेल राष्ट्रपति बनिसकेपछि त्यो निर्णय लिन सजिलो भएको र कोइरालालाई उक्त हैसियत दिँदा राम्रो हुने उनको तर्क नेता घिमिरेको छ ।

पार्टीको उक्त हैसियतमा उक्लिन खोज्ने नेता मध्ये गोपालमान श्रेष्ठ पनि एक हुन् । कांग्रेस पदाधिकारीहरु पछि पहिलो नम्वरमा रहेका श्रेष्ठ यसका लागि स्वभाविक दावेदार हुन् ।
नेपाली कांग्रेस प्रजातान्त्रिक छँदा सभापति देउवालाई शाही कालमा गिरफ्तार गरिएका बेला उनी कार्यवाहक सभापति थिए। माओवादी र तत्कालीन सात दलबीच भएको १२ बुँदे समझदारीमा उनैले हस्ताक्षर गरेका थिए ।
पौडेललाई राष्ट्रपति नबनाएर देउवाले आफूलाई अन्याय गरेको प्रतिक्रिया दिएका श्रेष्ठ ‘नेता’ बनाइएर न्याय पाउने आशामा छन् ।
कांग्रेसभित्र आफूलाई देउवा र रामचन्द्र पौडेलसँगको नेता भन्दै आएका छन्। त्यसबारे उनले सभापति देउवासँग पनि आग्रह गरेको बताइएको छ।
कांग्रेसमा २ जना उपसभापति, २ जना महामन्त्री र ८ जना सहमहामन्त्रीपछिका केन्द्रीय सदस्यहरूमा श्रेष्ठपछि पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र शशाङ्क कोइराला छन्।
त्यसपछि पूर्वपदाधिकारीहरू चित्रलेखा यादव, रामशरण महत, अर्जुन नरसिंह केसी, प्रकाशशरण महत र सुनिल थापा छन्। शेखर कोइरालालाई उनीहरूभन्दा पछि राखिएको छ।

पछिल्लो महाधिवेशनमा सिंह र निधि अनि गत महाधिवेशनमा सिटौलाले देउवालाई सभापतिमा चुनौती दिएका थिए। तर दोस्रो चरणको मतदान हुँदा उनीहरूले देउवालाई साथ दिएका हुन्।
पछिल्ला दिनहरूमा देउवाले मुख्य राजनीतिक वार्ताहरूमा पौडेलसँगै सिटौलालाई पनि राख्ने गर्दथे। राष्ट्रपतिमा उनको नाम पनि चर्चामा थियो। कतिपय नेताहरूले विधान अनुसारका विभाग र भातृ संस्थाहरूको गठन, पूर्णता र तीनको महाधिवेशन समयभित्र नगरिने पार्टीमा देउवाले तत्कालै त्यसबारे हतारो गरिहाल्नेमा विश्वास गरेका छैनन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर