तिलोत्तमा गोल्डकप
फाइनलमा सुदूरपश्चिम ११ र मनाङ मर्स्याङ्दी क्लब भिड्दै

- चैत्र ११, २०७९ मा प्रकाशित


कासिन न्यूज,
बुटवल ।

२२औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिवार सुदूरपश्चिम ११ र मनाङ मर्स्याङ्दी क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।दुई विभागीय सहित ८ टिमले भाग लिएको प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने यी दुवै टिमले हालसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन् ।
चैत ४ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टर देविनगरमा शनिवार दिउँसो तीन बजेदेखि सुरु हुने छ । सुदूरपश्चिम थ्री स्टारलाई पराजित गर्दै पहिलोपटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हो । सुदूरपश्चिमले २ जना भारतीय खेलाडीसहितको टिम उतारेर मनाङको चुनौती सामना गर्दैछ ।
गोल्डकपको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छ ।
२१औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिताको २२औं संस्करण ४६ वर्षमा हुन लागेको हो ।
बुटवल उपमहनगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

को को विजयी भए ?
२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाइजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।

त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्र एण्ड महिन्द्र मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए । २०औं तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टार क्लव काठमाडौंले जितेको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर