कांग्रेस राजनीति
सभापति देउवाको चाहना पूरा होला त ? भावी अर्थमन्त्रीमा डा.महतको पल्लाभारी बन्दै

- चैत्र १५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कमजोर राजस्व संकलन, बढ्दो आन्तरिक ऋण र शेयर बजारमा देखिएको गिरावटका कारण अहिले अर्थ मन्त्रालयको नेतृत्वमा धेरैको चासो बढेको छ ।
अहिले गठबन्धन भित्र नेपाली कांग्रेसलाई अर्थ मन्त्रालयको कार्यभार दिने कुरा चले सँगै कांग्रेस भित्र कसलाई अर्थमन्त्री बनाउने भन्ने छलफल एकातर्फ चलिरहेको छ भने अर्को तर्फ कांग्रेसका सभापति शेरबहादुर देउवाको चाहना पनि ठूलो भूमीका खेल्ने छ । अहिले सभापति देउवाले आफनो एकदम नजिक किचेन क्याविनेटका सदस्य डा. प्रकाशशरण महतलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने चाँजो पाँजो मिलाउन थालेका छन् ।

अर्थतन्त्र अप्ठ्यारो स्थितिमा छ। लगानी जोखिममा छ प्रतिफल कम छ। माग र आपूर्तिमा समस्या छ। यो परिवेशमा बजारमा देखिएको नकारात्मक भावनालाई सकारात्मकतामा बदल्न जरुरी छ । त्यसैले जुन मन्त्रालय जसको लागि फिट हुन्छ । त्यही मन्त्रालय त्यो व्यक्तिको जिम्मेवारीमा दिनु राम्रो हुने बताउँछन् राजनीतिक बिश्लेषकहरु ।
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महत दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री भइसकेका छन्। तर उनले अर्थ मन्त्रालयको नेतृत्व गरेका छैनन्।
उनी यसअघि परराष्ट्र र ऊर्जामन्त्री भइसकेका छन्। उनले राष्ट्रिय योजना आयोगमा बसेर पनि काम गरेका छन् । उनका दाइ रामशरण महत बारम्बार अर्थमन्त्री भएका थिए। अहिले देउवाले प्रकाशशरण महतलाई अर्थमन्त्रीमा अघि सार्न सक्ने कांग्रेस नेताहरूको आकलन पछाडि केही रोचक पक्षहरू पनि छन्।

“विषयवस्तु बुझ्न सक्ने, सम्बन्धित मन्त्रालयमा पनि नतिजा दिएको र अर्थशास्त्रमै अमेरिकाबाट पीएचडी गरेर आएको भएर पनि म यसमा योग्य छु भन्छन् प्रकाशशरण । प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवालाई अर्थमन्त्रीमा अब्बल नेता पठाउने आग्रह गरेको माओवादीका एक नेताले बताए।
देउवाले आफ्नो दलबाट अर्थमन्त्रीमा महतलाई पठाउने संकेत सोमवार भएको भेटमा दिएको छन् । माओवादी नेताहरूका अनुसार महतलाई अर्थ मन्त्रालय दिन प्रधानमन्त्री दाहाल “अनिच्छुक“ देखिएका छन्। तर देउवाले नाम सिफारिस गरे प्रचण्ड उनलाई अर्थमन्त्री बनाउन बाध्य हुनेछन्।
कुन मन्त्रालय कुन दलले पाउने र को व्यक्ति त्यसमा हुने भन्ने अझैसम्म टुङ्गो लागिसकेको छैन तर साझेदार दलहरूबीच सन्तुलन हुने गरि मन्त्रालय बाँडफाँट हुन्छ । देउवासँग सोमवार भेट गरेकी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय “अन्तिम टुङ्गो लाग्न बाँकी रहे पनि कांग्रेसबाट महत नै अर्थमन्त्री बन्न सक्ने“ बताउँछिन्।

उनका अनुसार अर्थतन्त्रका चुनौती सामना गर्न सक्ने, आर्थिक क्षेत्रमा केही गर्ने अठोट भएको, निर्णय लिन सक्ने र पार्टीबाट हुने दबाव सामना गर्न सक्ने नेता भावी अर्थमन्त्रीका लागि कांग्रेसबाट सिफारिस हुनसक्छ।

देउवानिकट मानिने कांग्रेसकै अर्का सहमहामन्त्री महेन्द्र यादव पनि कांग्रेसको भागमा अर्थमन्त्री आए महत नै दाबेदार हुने ठान्छन्।
अर्थशास्त्रमा पीएचडी गरेको, अर्थतन्त्रको ज्ञान भएको उहाँ नै हो। पार्टीको पनि प्रतिबद्ध साथी हो । देउवाले अर्थमन्त्रीमा आफूप्रति शत प्रतिशत बफादार व्यक्ति छान्छन्। त्यसो हुँदा प्रकाशशरण महतबाहेक विकल्प छैन । देउवासँगको निष्ठा र अर्थशास्त्रको पनि पृष्ठभूमिका कारण अन्य दाबेदारहरूभन्दा महत बलिया छन्।

अर्थतन्त्र पढे पनि आर्थिक मामिलामा हुने बहसमा उनका दाइ रामशरण महतजस्तो प्रकाशशरण महतको सार्वजनिक प्रस्तुति नभएको उनका बिरोधीहरु बताउँछन्।
महतका बिरोधीहरुको भनाइमा केही सत्यता रहेको स्वीकार गर्दै आचार्य भन्छन्, “नेपालको अर्थतन्त्र कुन दिशामा जाने के गर्ने र अर्थतन्त्रले सामना गरेका चुनौतीबारे बोल्ने लेख्ने छलफल गर्ने चाहिँ उनीसँग छैन।”

माओवादीका एक नेताले महतलाई प्रधानमन्त्रीले विश्वास गर्न हिचकिचाएको कारणमध्ये यो पनि एक हुनसक्ने बताए।
कांग्रेसभित्र असन्तुष्टि

प्रकाशशरण महतलाई अर्थमन्त्री बनाउने देउवाको अडानपछि कांग्रेसभित्र भने असन्तुष्टि देखिएको नेताहरूले बताएका छन्।

महतलाई अर्थमन्त्री दिने देउवाको प्रयासपछि पार्टी उपसभापति पूर्णबहादुर खड्का सबैभन्दा बढी असन्तुष्ट देखिएको नेताहरू बताउँछन्। खड्का आफैँ अर्थ वा गृहमध्ये एक मन्त्रालयसहित उपप्रधानमन्त्री भएर सरकारमा जान इच्छुक देखिएको कांग्रेस नेताहरूको भनाइ छ। महतले नेतृत्वले आफूलाई विश्वास गरेर अवसर दिने अपेक्षा आफूले लिए पनि अरू नेताहरूका बारेमा टिप्पणी नगर्ने बताए। रोजेको मन्त्रालय नपाए पनि कांग्रेसबाट उपप्रधानमन्तरी सहित सरकारको नेतृत्व खड्काले नै गर्ने तयारी छ।

बलिया छन् त महत ?
महत पार्टी र संसदीय राजनीतिमा भने नेपाली कांग्रेसका अन्य नेताहरूको तुलनामा कम सफल देखिन्छन्। गत महाधिवेशनमा देउवा पक्षबाट उम्मेदवारी दिएका महत महामन्त्रीमा पराजित भए। त्यसभन्दा अघिल्लो महाधिवेशनपछि महतलाई देउवाले पार्टीको सहमहामन्त्री नियुक्त गरेका थिए।अहिले उनी पार्टीको प्रवक्ता पनि छन्। यसअघि कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा उनले देउवालाई साथ दिएका थिए।
यो पटक प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसको बन्दसूचीमा एक नम्बरमा रहेका महत संसद्मा निर्वाचित भए।
तर प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा उनी अघिल्लो पटक काठमाडौं –५ मा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए। यो निर्वाचनमा सोही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रदीप पौडलेले पोखरेललाई पराजित गरे। संविधानसभामा महत नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट सदस्य बनेका थिए। महतलाई कतिपय कांग्रेस नेताहरू छिटो आवेशमा आउने स्वभाव भएको नेता ठान्छन्। उनले विसं २०६६ सालमा संविधानसभाको शासकीय स्वरूप निर्धारण समितिमा एउटा निर्णय नै च्यातेपछि समितिले उनीसँग स्पष्टीकरण सोधेको थियो। दुई वर्षअघि एउटा सार्वजनिक कार्यक्रममै कांग्रेस सभापति देउवाले महतलाई गाली गरेको भिडिओ भाइरल भएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर