अर्ध पुल पूर्ण बन्ने भो – करिबन डेढ दशक देखी अलपत्र अवस्थामा

- चैत्र १७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
विराटनगर ।

हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङलाई जोड्ने रतुवा खोलामा निर्माण गरिएको पुल आधा मात्रै बनेको थियो । सोही बाँकी रहेको भागमा पूर्ण पुल निर्माण गर्नको लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का दिएको छ । यो पुल करिबन डेढ दशक देखी अलपत्र अवस्थामा थियो ।

त्यसैले दुई वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माणका लागि ठेक्का लागेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका एक कर्मचारीले जानकारी दिए । अधुरो रहेका स्थानमा जम्मा ७५ मिटरको पुलको तीन वटा स्पन निर्माणका लागि देव एन्ड सायर–समता–आशिष सन्दीप जेभीले पाएको छ ।

उनका अनुसार मोरङ तर्फ ५० मिटर र झापातर्फ २५ मिटर पुलको लम्बाइ थपिनेछ । ७५ मिटर पुल थप गर्नका लागि २२ करोड १२ लाख ३७ हजार रुपैयाँमा ठेक्का लागेको हो । २०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेक्का छ । ७५ मिटर थपिएपछि पुलको लम्बाइ २८० मिटरको हुनेछ ।
पुलको सुरक्षाका लागि झापातर्फ ६५० र मोरङतर्फ १४ सय मिटरको खोलामा तटबन्ध पनि निर्माण गरिनेछ । पुल नहुँदा स्थानीयवासी वर्षामा पैसा तिरेर डुङ्गा र हिउँदमा बाँसको पुलबाट यात्रा गर्न बाध्य छन् । साइकलमा खोला पार गर्दा १० रुपैयाँ र मोटरसाइकलमा खोला पार गरेको २० रुपैयाँ शुल्क तिनुपर्ने बाध्यता छ ।

रतुवा खोलाको अधुरो पुल निर्माण भए झापाका दक्षिण क्षेत्रका जनतालाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउ–जाउ गर्न सहज हुनेछ । पुल निर्माणपछि आवत–जावतमा पूर्वपश्चिम महेन्द्र राजमार्गको विकल्प पनि बन्नेछ ।
रतुवा खोलामा यसअघि २०६४÷६५ मा पुल निर्माणका लागि ठेक्का लागेको थियो । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४÷६५ मा कालिका–ओसिए जेभीलाई पुल निर्माणको ठेक्का लिएको थियो ।

तर २०५ मिटर पुल निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो । सम्झौता अनुसारको काम गरेको भन्दै ठेकेदार कम्पनीले काम छाडेपछि रतुवा खोलामा आधा मात्रै पुल बनेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर