बागमती प्रदेश
कांग्रेसलाई मन्त्री छान्न हम्मे – मन्त्रालय भन्दा आकांक्षी धेरै

- चैत्र १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
मकवानपुर ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले कांग्रेसले मन्त्री भागबन्डा गर्दा छवटा पाउनुपर्ने दाबी गरेको जानकारी दिए । माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार, कांग्रेसले छवटा माग गरेको, नेकपा (एकीकृत समाजवादी)ले दुईवटा र हाम्रो नेपाली पार्टीले एउटा माग गरेअनुसार भागबन्डा गर्दा अहिले रहेको मन्त्रालय पुग्ने देखिँदैन ।
मन्त्रिमण्डल विस्तार गरिने तयारी रहेपनि कांग्रेसभित्र आकांक्षीमध्येमा सहमति गराउन सकिएको छैन । बागमती प्रदेशमा कांग्रेसले मन्त्रीहरूको नाम टुङ्गो नलगाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।
अब छिट्टै मन्त्रीहरूको नाम टुङ्गो लगाएर पठाउने तयारी भएको नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामाले बताए ।
केन्द्रका कारण प्रदेशमा पनि मन्त्रीहरूको नाम टुङ्गो लगाउन समस्या भएको उनले बताए । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै बागमती प्रदेशमा भएको सत्ता समीकरणपछि सरकार विस्तारमा ढिलाइ भएको छ। फेरिएको गठबन्धनमा
सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । एक महिनाभन्दा लामो समयदेखि चारवटा मन्त्रालयको जिम्मेवारी रहेका मुख्यमन्त्री जम्कट्टेलमाथि गत शुक्रबार थप चारवटा मन्त्रालयको बोझ पनि थपिएको छ । योसहित मुख्यमन्त्रीको नेतृत्वमा आठवटा मन्त्रालय छन् ।
प्रदेशमा सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा भएको ढिलाइबारे एक–अर्काका कारण भन्दै आरोप लगाउँदै आएका छन् ।
गत पुस २५ गते नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित प्रदेशमा रहेका पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा सरकारबाट बाहिरिएको थियो ।
गत फागुन १३ गते राप्रपाले सरकार छाडेपछि राप्रपाले पाएको तीनवटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले कै जिम्मेवारीमा छ । यस्तै गत शुक्रबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि एमालेले सत्ता भागबन्डामा पाएको मन्त्रालयको जिम्मेवारीसमेत पछिल्लो समय मुख्यमन्त्री जम्कट्टेल अरूलाई दिएका छैनन् ।

एमाले र राप्रपा सत्ताबाट बाहिरिएसँगै सत्तामा सहभागी हुन लागेको कांग्रेसमा मन्त्री हुनेको सङ्ख्या बढेपछि कांग्रेसलाई व्यवस्थापनमा समस्या भएको देखिएको छ । कांग्रेसभित्रको समूह र गुट मिलाउन समस्या भएपछि कांग्रेसले प्रदेश सभा सदस्यको सङ्ख्याका आधारमा मन्त्री पाउनुपर्ने भन्दै धेरै मन्त्रालयको दाबी गर्दै आएको छ ।
प्रदेशमा रहेको ११ वटा मन्त्रालयलाई भागबन्डाका लागि मन्त्रालय फुटाएर विवादमा आउने पक्षमा मुख्यमन्त्री जम्कट्टेल नदेखिएपछि सरकार विस्तारमा सकस भएको हो ।
मन्त्रालय भागबन्डामा सकस भएपछि सहमति निर्माण गर्न कार्यदल गठन गरिएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।
उपनेता चित्रकारका अनुसार कार्यदलमा उनीसँगै कांग्रेसका ३ जना, माओवादी केन्द्रका २, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका १/१ जना रहेका छन् । उपनेता चित्रकारले भने, ’कांग्रेसका कारण सरकार विस्तारमा ढिलाइ भएको होइन, छवटा मन्त्रालय माग गरेका छौँ । माओवादी केन्द्रसमेत सुरुमा सहमत थियो । सहमति जुट्नेबित्तिकै सरकारले पूर्णता पाउनेछ ।’
मन्त्रिमण्डल विस्तारमा सहमति जुट्न नसकेपछि काठमाडौँमा मुख्यमन्त्री जम्कट्टेल, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामासहितका नेता बसेर सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो ।
कांग्रेसले केन्द्रमा सत्ता गठबन्धनमा हुने सहमतिलाई कुर्दासमेत सरकार निर्माणमा ढिलाइ भएको हो । सातै प्रदेशको एकमुष्ट भागबन्डा हुने र केन्द्रमा समेत मन्त्रिमण्डल विस्तारमा हुने सहमतिलाई प्रदेशमा कांग्रेसले कुरेर बसेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामा केन्द्रमा सातै प्रदेशको भागबन्डाबारे छलफल भएर सहमति भएपछि प्रदेशमा सरकारको काम हुने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर