राष्ट्रपति पदका उम्मेदवार- एक सादगी र सरल छन् भने अर्का समन्वयकारी भूमिकामा अब्बल

- फाल्गुन १४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अब देशमा नयाँ राष्ट्रपति चयनका लागि दुई पूर्वसभामुख रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसमा वरिष्ठ नेता पौडेलले आठ दलको समर्थनमा उम्मेदवारी दिएका छन् भने एमाले उपाध्यक्ष नेम्वाङको मनोनयनमा उनको दल मात्रै समर्थक रहेको छ । अरू दलको समर्थन जुटाउन एमालेले पत्राचार सुरु गरिसकेको छ ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका प्रस्तावक तथा समर्थकसहित पौडेलले दिउँसो सवा २ बजे उम्मेदवारी मनोनयन गराएका थिए ।
पौडेलको मनोनयनका बेला प्रधानमन्त्री पुष्पकमल दाहालसहित आठै दलका शीर्ष नेता उपस्थित थिए । पौडेलभन्दा अघि उम्मेदवारी दर्ता गराएका नेम्वाङको प्रस्तावक र समर्थकमा भने एमालेका मात्र नेता छन् ।
पौडेल ०५१ को मध्यावधि निर्वाचनपछि सभामुख भएका थिए । कांग्रेसको कार्यवाहक सभापति, उपप्रधानसहित पटकपटक मन्त्री भइसकेका ७९ वर्षीय पौडेल समकालीन नेताहरूमा सादगी र सरल व्यक्तित्वले चिनिन्छन । उनी २०१६ सालदेखिको विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका हुन् । प्रजातान्त्रिक संघर्षमा पौडेलले १४ वर्ष जेल जीवन बिताएका थिए ।

फाइल तस्विर

नेम्वाङले दुईवटै संविधानसभामा अध्यक्ष (सभामुख) को भूमिका निर्वाह गरेका थिए । उनी पुनःस्थापित प्रतिनिधिसभा (२०६३) र रूपान्तरित व्यवस्थापिका (२०७२) मा पनि सभामुख थिए । उनी २०५१ सालमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भएका थिए । संविधानसभा अध्यक्ष हुँदा निर्वाह गरेको समन्वयकारी भूमिकालाई लिएर उनको प्रशंसा हुने गरेको छ ।
राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारूढ दलमै कित्ताकाट भए पनि एमालेले मतदान हुने दिन फागुन २५ सम्म सत्ताबाट नबाहिरिने रणनीति बनाएको छ । राष्ट्रपतिमा वामपन्थी दलको मत प्रभाव पार्ने योजनाका साथ एमालेले तत्काल सत्ता नछाड्ने नीति बनाएको हो ।
राष्ट्रपति निर्वाचनका विषयमा अन्य दल खुलिसकेका छैनन् । सरकारको नेतृत्व गरेको माओवादी नै नयाँ समीकरणमा गएपछि राप्रपा समर्थनसमेत फिर्ता गर्दै शनिबार नै सत्ताबाट बाहिरिएको छ । राष्ट्रपतिको निर्वाचनमा कसको पक्षमा खुल्ने भन्नेबारेमा निर्णय लिन राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले आइतबार बैठक बोलाएका छन् ।
आठ दलका नेता भने राष्ट्रपति निर्वाचनमा मत क्रस नहुने दाबी गर्छन । राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६ सय २८ मध्ये बहुमत अर्थात् २६ हजार ३ सय १५ मतभार ल्याउनुपर्छ । पौडेलको पक्षमा खुलेका आठ दलको ३१ हजार ९ सय १७ मतभार छ । एमालेको मतभार १५ हजार ३ सय १२ छ । राजनीतिले नाटकीय मोड नलिए पौडल निर्वाचित हुने देखिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर