पुस्तक साभार
फुटुङ्गेले बयान गरेका फुटुङ्गको नालिबेली ‘फुटुङ्ग इतिहास, संस्कृति र विकास’ साच्चै मार्मिक

- चैत्र १३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आफूले जाने देखी नै आफनो गाँउघरको बारेमा निकै जानकारी राख्ने एउटा बालमनोज्ञान नै थियो । बाल्यवस्था देखी आफनो वरपर भएका वनजङ्गल, नदीनाला, मठमन्दिर, चैत्य, गुम्बा आदिमा धनी यस क्षेत्रले आधुनिकतासँगै पुराना जात्रामात्रा, चाडपर्व, संस्कृति सबैलाई नजिक बाट नियाँलिरहेका संचारकर्मी श्रीराम फुटुङ्गेले माथिका यही परिवेशलाई जोडेर ‘फुटुङ्गः इतिहास, संस्कृति र विकास’ नामक पुस्तक साहित्यीक बजारमा ल्याएका छन् ।

बिगतमा राजधानी अर्थात काठमाडौं उपत्यकामा देखीने वातावरणलाई सुनको थैली जस्तो वर्णन गरिन्थ्यो । हरेक स्थानमा स्वच्छ हावापानी र वातावरणयुक्त माहोलले उपत्यकाको एउटा छुट्टै पहिचान थियो । देशका हरेक कुनाकाप्चा बाट मानिसहरुको लर्को उपत्यकामा हुन्थ्यो । जसको अन्य कारणहरु धेरै भएपनि पहिलो र भित्री कारण भनेको यहाँको सुन्दरता र स्वच्छ हावापानी नै थियो ।

त्यस सँगै आन्तरिक पर्यटक घुमफिर, वनभोज, हाइकिङ लागि उपत्यकाका शहरी भागहरु भन्दा पनि बाहिरी कुनाकाप्चाका भागहरु मानिसहरुको रोजाईमा पर्न थालेको थियो ।
अहिले संचारकर्मी फुटुङ्गेले काँठ क्षेत्र त्यहाँको परिवेश, इतिहास, संस्कृतीलाई आफनो लेखनको माध्यमले मिठो शैलीमा बयान गरेका छन् । पुस्तकमा काँठ क्षेत्रको हरेक कुरालाई सुलभ र सभ्य शैलीमा बर्णन गरिएको छ ।

बिशेष गरेर उपत्यकाको उत्तर–पश्चिमतिर अवस्थित फुटुङ (शुद्ध यही नै हो) को भौगोलिक स्थिति र त्यहाँको बस्तीदेखि लिएर त्यहाँका विभिन्न जाति, जनजातिको इतिहास, परम्परागत रीतिस्थिति, संस्कृति तथा त्यहाँका जनताले संरक्षण गर्दै आइरहेको सांस्कृतिक सम्पदासम्बन्धी परिचय दिएर त्यहाँको इतिहासलाई मिठो शैलीमा बर्णन गरेका छन् ।
पौराणिक मान्यता र कथालाई फुटुङ्गेले निकै मर्मस्र्पसी शैलीमा पुस्तकको माध्यमले निकै तौर तरिका पुर्याएर बर्णन गरेका छन् ।
धार्मिक कथन अनुसार सतीदेवीको कलेजो पतन भई कल्पेश्वर महादेव उत्पत्ति भएको जयन्तीपुर नै पछि फुटङ भएको विश्वास छ । स्थानीय धर्मस्थलीको जात्राका बेला गाडिएको लिङ्गामा बाँधिएको पत्तार (लामो कपडा) हावाले उडाएर जयन्तीपुरमा आएपछि स्थानीय नेवार जातिका मानिसले “का फुट” (लौ सकियो) भनेकाले सोही फुटबाट फुटुङ भएको एकथरी भनाइ छ भने विसं १८४९ मा भोट र नेपालको लडाइँ सकेपछि नजिकैको जितपुरसम्म आएका भोटका सैनिक फर्केकाले स्थानीय बासिन्दाले ‘का फुट’ भनी सन्तोषको सास फेरेको र सोही फुट नै बारम्बार प्रयोग गरेपछि फुटुङ रहेको किंवदन्ती छ ।
विसं २०२२ को नापीमा भूमिसुधार कार्यालयले सम्म परेको सो गाउँको नाम ‘फुटुङचौर’ लेखेको थाहा भएको छ । यहाँका पुराना जातिमा नेवारहरू छन् जसमा श्रेष्ठ, महर्जन, प्रधान, मास्के, प्रजापति र राजवाहक थरका बढी छन् ।

फुटुङ्गका प्रसिद्ध जात्रामा भक्तपुरको बिस्केट जात्राकै जस्तै मनाइने नारायणी जयादेवी, लाखे, रोपाइँ, गणेश, कृष्ण झुलाका साथै भजन, बाँसुरी वादन, नौमती बाजा पनि प्रचलनमा छन् । त्यस्तै कल्पेश्वर, नारायणी जयादेवी, महाँकाल, नित्यनाथ, बुद्ध चैत्य, लोकेश्वर, ऋषेश्वर, सन्तानेश्वर, आशापुरी महादेव मन्दिर, गहना पोखरी यहाँका अन्य आकर्षण हुन् ।
दुई सय वर्ष पुरानो इनार भने पुरिएको लेखकले जनाउनुभएको छ ।

यहाँ नेवारहरूको गुठी परम्परा कायमै छ भने महर्जन, नेवार, ढकाल, दलित आदिले आआफ्नै कुलको पूजा (दिवाली) गर्ने गर्छन् । सुरुमा कृषि, माटाका भाँडा निर्माण पेसामा आश्रित यहाँका जनता हाल किराना, मासु, भाँडा बिक्री, दुग्ध व्यवसाय, कुुखुरापालनमा पनि रमाएका छन् ।

जनजीवनको कठोर पाटा केलाउँदै इतिहासदेखि वर्तमानसम्मको विवरण चित्रण गरिएको चित्रमय यस ‘सांस्कृतिक लघु विश्वकोश’ मा फुटुङेको विगत, तिनका सङ्घर्ष र विकासका पक्षलाई मजासँग उधिनिएको छ । कृतिमा सार्वजनिकस्थलमाथिको थिचोमिचो पनि कोट्याइएको छ ।
लिच्छविकालीन बस्ती मानिएको गोलढुङ्गा, मनमैँजुको छिमेकी फुटङबारे जान्न बुझ्न यसमा पर्याप्त सामग्री छन् । छिमेकका गाउँमा के के भइसक्यो, हाम्रामा केही भएन भन्ने खालको गुनासो, आफ्नो ठाउँ नै यस्तो उस्तो भनी अर्कालाई दोष थुपार्ने प्रवृत्ति, राजनीतिक रूपले विभाजनको स्थिति आदि त्यागेर दीर्घकालीन योजना बनाएर सबैको सहभागितामा कार्यान्वयनका लागि प्रतिबद्ध भई फुटुङलाई परिवर्तन गराउने सन्देश दिन लेखकले प्रकाशन गरेको यस कृतिमा इतिहास, विभिन्न जातजाति, मठमन्दिर र आस्थाका धरोहर, सांस्कृतिक परम्परा, जीविकोपार्जन, आधुनिक विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक विकास, सामाजिक सङ्घसंस्थाको योगदान, सार्वजनिक जग्गाको स्थिति, कला, साहित्य र सर्जक आदिको साङ्गोपाङ्ग चित्रण गरिएको छ ।

दुई दशकअघिसम्म पनि मानिसहरूको पर्याप्त उत्पादन र आम्दानीको स्रोत नियमित नभएको तथा औँलामा गन्न सकिने व्यक्ति मात्र जागिरे भएको फुटुङ सहर नजिक भएकाले सञ्चार र यातायात सञ्जालले आधुनिकीकरण दिशातर्फ उन्मुख छ ।
अलपत्र परेका सार्वजनिक वा पर्ती जग्गाको संरक्षणमा लेखकले राज्यकै ध्यानाकर्षण गराउनुभएको छ । फुटुङमा रहेका करिब दुई सय रोपनी पर्ती जग्गाको संरक्षण गरी उपयोगमा ल्याउनुपर्ने उहाँको सुझाव छ ।

कृतिमा लेखकले फुटुङका विभिन्न अवस्था मात्र सपाट नराखेर यसको विकासका लागि गर्नुपर्ने १७ काम पनि सुझाएर काम गर्न चाहने व्यक्ति, गैरसरकारी सङ्घसंस्था, स्थानीय तह एवं सरकारलाई आँखा खोलिदिनुभएको छ ।
सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने तथा अन्य पूर्वाधारका काम अघि बढाउने, शिक्षा, स्वास्थ्य, खानेपानी, विपद् व्यवस्थापन, स्थानीय सूचना तथा स्रोत केन्द्र, सरसफाइ तथा वातावरण, संस्कृति र सम्पदा संरक्षण, ज्येष्ठ नागरिक भलाइका कार्यक्रम, खुला स्थलका लागि ठाउँ छाड्ने आदि विभिन्न सुझाव दिएका छन् ।

यति हुँदा हुँदै पनि लेखकले कृतिमा काँठ वा उत्तरी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटन विकासका लागि चाल्नुपर्ने कदमबारे भने उल्लेख गरेको पाइएन । ग्रामीण र सहरिया मिश्रित वातावरण पाइने र आधुनिकताले प्रवेश गरिसकेका यस्ता स्थलमा घरबास पर्यटन कार्यक्रमको थालनी गर्न सकिनेबारे स्थानीय तह र पर्यटन व्यवसायीहरूलाई आह्वान गर्न सकिन्छ ।
कृतिमा सामान्य वर्णविन्यासका गल्ती केही देखिन्छन् ।

पुस्तकलाई दैनिक, साप्ताहिक वा मासिक पत्रिका जस्तो रङ्गीबिरङ्गी बनाइएको अलि सुहाएन । यसको आवरण पृष्ठमा कोलाज जस्तो नबनाई एकै भाव आउने चित्र राख्न सकिन्थ्यो । जे होस्, कृति थप अनुसन्धान वा सन्दर्भ सामग्रीका लागि अत्यन्तै उपयोगी छ । काँठ क्षेत्रको विकासका लागि यसले स्थानीय बासिन्दालाई पनि खुराक दिन सक्ने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर